Sunday, August 2, 2015

निर्झारिणीको जीवन्त सङ्गीत पनि हो मेरो कविता

उतौला देखिने,

सागरका छालहरुका,

उत्तेजना मात्र होइन,
चंचलता पछिको,
क्रन्दन पनि हो-मेरो कविता।

सौन्दर्यको चुचुरा,
उत्तेजनाको आयतनमा,
आनन्द-चेतनाको,
उपमा दिने,
कामवेद्को प्रणय ऋचा मात्र होइन,
जीवन मरु भूमिमा,
प्राणीको पनि पानीसंग,
अनि पानीको प्राणीसंगको
स्नेह र आत्मियतापनि हो मेरो कविता।

यूद्ध सत्य युगको,
कलि युगमा,
देव-दानवको,
सागर-मन्थनबाट निस्किएको,
अमृत मात्र होइन,
संसार संहार गर्नसक्ने,
विषको थुप्रो पनि हो - मेरो कविता। 

आकाश छुने बुट्टेदार,
अट्टालिका इमारतहरुका,
सौन्दर्य मात्र होइन,
निर्माण गर्ने त्यी काला हातहरुका,
रगत र पसीना पनि हो - मेरो कविता। 

जंगली साम्राज्यको शिखरमा,
भैरवक्रीडामा ब्यस्त,
यसको ज्वलन्त निरुपण अनि 
क्रिडामा पराजित ,
यसकोअनुचित भूलको,
समुचित दोषको,
आभास पनि हो - मेरो कविता। 

सुनौला धानका बाला,
लह लह लहरिरहेका,
खेतको मलिलोपन मात्र होइन ,
त्यी बाँझा धरतीका ,
दुख-समवेदना पनि हो - मेरो कविता,

त्यसो त !
ज्योत्सनाको कुतकुत्याईले,
लहर-लहर उल्लासित हुँदै झर्ने,
निर्झरिणीको जीवन्त सङ्गीत पनि हो- मेरो कविता।।